प्रथम राष्ट्रव्यापी माध्यमिक तह स्तरीय अभ्यास अदालत प्रतियोगिता आयोजना हुँदै

कानुन समाचार

प्रथम राष्ट्रव्यापी माध्यमिक तह स्तरीय अभ्यास अदालत प्रतियोगिता आयोजना हुने भएको छ । लेक्स नेपाल इन्स्टिच्युट अफ लको प्रस्तुतिमा सुदूरपश्चिम कानून विद्यार्थी समाजले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । कक्षा १२ को परीक्षा दिएर बसेका र कक्षा १२ मा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना हुन लागेको हो ।

नेपालमा कक्षा ११ र १२ मा कानुन विषयको अध्ययन गराइने भएपनि विद्यार्थीहरुको अदालती अभ्यासमा पहुँच कम हुने भएकाले अदालती अभ्याससँग विद्यार्थीहरुलाई अभ्यस्त बनाउन उक्त कार्यक्रम आयोजना गरिएको कानुनी समाजका अध्यक्ष दिपक जोशी बताउनुहुन्छ । प्रतियोगिता सञ्चालनको दौरानमा विद्यार्थीहरुलाई मिसिल लेखन तथा प्रशिक्षणको पनि तालिम दिइने भएकाले प्रतियोगिताले विद्यार्थीको मुद्धा लेखन र बहसकलाको क्षमता अभिवृद्धि हुने उहाँको भनाइ छ ।

यसभन्दा अघि अंग्रेजीमा मात्रै अभ्यास अदालत प्रतियोगिता सञ्चालन हुँदै आएकोमा पहिलोपटक नेपाली माध्यममा अभ्यास अदालत सञ्चालन हुन लागेको कानुनी समाजका संयोजक रेवन्त ढकालको भनाइ छ । नेपालका अधिकांश माध्यमिक तहका विद्यालयहरुमा नेपाली माध्यममा कानुन पढाई हुँदै आइरहेको छ । तर अंग्रेजीमा अभ्यास अदालत प्रतियोगिता आयोजना हुँदा उनीहरु त्यसमा सहभागी नै हुन नसक्ने भएकाले उनीहरुको सहभागीतालाई सुनिश्चित गर्न नेपाली माध्यममै प्रतियोगिता आयोजना गरिएको संयोजक ढकालको भनाइ छ ।

नेपालको अदालती अभ्यास नेपाली भाषामै सञ्चालन हुँदै आएको छ । कानुनको अध्ययन सम्पन्न गरेपछि नेपाली भाषामै मुद्धा लेखन र बहसकलामा पोख्त हुनुपर्ने भएकाले यो प्रतियोगिताले बहसकलामा तथा मुद्धा लेखनमा विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने लेक्स नेपालका निर्देशक अधिवक्ता यज्ञराज पाण्डेको भनाइ छ । अभ्यास अदालत प्रतियोगिता अन्य प्रतियोगिता जस्तो जित हारमा मात्रै सिमित नभएर मुद्धा लेखनको कार्यशाला तथा बहसकलाको कार्यशाला लगाएतका कार्यक्रमले उनीहरुको लेखन र बहसकलालाई सुधार गर्न मद्यत पुर्याउने अधिवक्ता पाण्डेको भनाई छ ।

प्रतियोगितामा विजेतालाई पाँच हजार तथा उपविजेता समूहलाई तीन हजार राशीको पुरस्कार निर्धारण गरिएको छ । प्रतियोगिताकालागि यही असार ६ गतेसम्म अन्तिम दर्ता मिति तोकिएको छ भने ७ र ८ गते कार्यशाला अयोजना गरिदै छ । अभ्यास अदालत प्रतियोगिता भने असार १४ र १५ गते आयोजना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *