लेक्स नेपाल इन्स्टिच्युट अफ ल ले कानुन पुस्तक वार्ता सम्पन्न गरेको छ । कानुनका क्षेत्रमा लेखिएका पुस्तकहरुमाथि लेखकसँगै अन्तरक्रिया गर्ने उद्देश्यले सुरु गरिएको लेक्स नेपालको कानुन पुस्तक वार्ताको पहिलो शृङ्खला सम्पन्न गरिएको हो ।
पहिलो शृङ्खलामा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘नेपाल कानुन प्रणालीमा आएका परिवर्तनहरु : एक विवेचना’ उपर छलफल कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा लेक्स नेपालको रिसर्च टिमका सदस्य आकृति श्रेष्ठले उक्त पुस्तकमा समेटिएका कानुन व्यवसाय र कानुन व्वयसायीहरुको भूमिका लगाएतका विषयमा उजागर गर्दै लेखकलाई प्रश्न राख्नु भएको थियो भने अर्का सदस्य मोनिका पोख्रेलले नेपाल बार एशोसिएशनको भूमिका लगाएतका विषयवस्तुमा पुस्तकमा उठाइका कुरालाई प्रकाश पार्दै बारको भूमिकाका विषयमा प्रश्न उठाउनु भएको थियो । कार्यक्रममा रिसर्च टिमका सदस्यबाट उठाइएको प्रश्नलाई सम्बोधन गर्दै लेखक मिश्रले अहिले कानुन व्यवसायीमा देखिएका समस्याहरु र न्यायपालिकाले खेलेको भूमिकाका विषयमा नजिरसमेतलाई आधार मानी तर्क प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा लेक्स नेपालका निर्देशक अधिवक्ता यज्ञराज पाण्डेले प्रकाशन भएका कानुनका नयाँ पुस्तकहरु माथि छलफल गर्दै नयाँ प्ुस्तामा पठन संस्कृतिको विकासका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कानुन सँग सम्बन्धित नयाँ पुस्तकहरुमाथिको छलफललाई लेक्स नेपालले निरन्तरता दिने बताउनुभयो ।



