रायमाझीको ‘न्यायपालिकामा चार दशक’

कानुन पुस्तक रिभ्यु

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझीद्वारा लिखित संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशक : मेरा सम्झना’ बजारमा आएको छ । न्यायपालिकामा चार दशक बिताएका रायमाझी २०६६ वैशाखदेखि २०६६ मंसिरसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । लेखक रायमाझीले भने, ‘मेरा अनुभव खुलारुपमा मैले पुस्तकमा राखेको छु । अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन सबै स्वतन्त्र हुनुहुन्छ ।’ उनले न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले पुस्तक पढिदिए आफूलाई विशेष खुसी हुने बताए । सांग्रिला बुक्सले बजारमा ल्याएको यो पुस्तकले न्यायलयलाई नजिकबाट नियाल्न सहयोग पुग्ने लेखक रायमाझीले जिकिर गरे । सांग्रिलाका मणि शर्माले यो पुस्तक नेपालको न्यायिक इतिहासका भित्री पाटाहरुलाई चियाउने एउटा आँखीझ्याल भएकाृ बताए ।

रायमाझीले न्यायसेवाको अधिकृत, जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा आफूले देखेभोगेका घटनालाई पुस्तकमा चित्रण गरेका छन् । प्रकाशक शर्माले न्याय र कानुन सामान्यत: रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण यस पुस्तकमा आख्यानको स्वाद पाउने भनाइ व्यक्त गरे । सांग्रिला प्रकाशनले एक विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ । राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन् । न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ ।’

विज्ञप्तिमा न्यायको रक्षाका खातिर एक कर्मठ न्यायकर्मीले गर्नुपर्ने साहस र त्यागका दृष्टान्त रहेको उल्लेख छ । ‘संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसला लगायत नेपालको राजनीतिका महत्त्वपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको पनि अभिन्न अंग बन्नेछ,’ सांग्रिला बुक्सले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *