सुदूरपश्चिम कानुन विद्यार्थी समाज र लेक्स नेपालको संयुक्त आयोजनामा संविधान उपरको छलफल कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवस २०८० को अवसरमा ‘मौलिक हक : मात्र संवैधानिक घोषणा कि वास्तविक प्रत्याभूति’ भन्ने शीर्षकमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा अतिथि वक्ताका रुपमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल, पूर्व महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता सुनिल पोख्रेल एवम् अधिवक्ता शशी बस्नेत उपस्थित हुनु भएको थियो । कार्यक्रमको सञ्चालन सुदूरपश्चिम कानुन विद्यार्थी समाजको अध्यक्ष अधिवक्ता साधना देउवाले गर्नु भएको थियो ।
कार्यक्रममा न्यायाधीश फुयालले संविधानले गरेका मौलिक हकको व्यवस्थालाई अदालतले यथोचित कार्यान्वयन गर्न सकेको टिप्पणी गर्नुभयो । त्यस्तै पूर्व महान्यायाधिवक्ता प्रधानले संविधानले गरेको मौलिकका कतिपय व्यवस्थाहरु कार्यान्वयनका लागि सरकारले स्रोतको उचित व्यवस्थापन गर्न नसकेको टिप्पणी गर्नुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता पोख्रेलले संविधानका मौलिक हकका विषयमा सरकारले देखाउनुपर्ने उचित संवेदनशीलता देखाउन नसकेको तर्क गर्नुभयो । अधिवक्ता बस्नेतले मौलिक हकलाई सरकारले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने हकको रुपमा लिन नसकेको टिप्पणी गर्नुभयो ।